कान्तिलोकपथ आजबाट बिहान ३ र राति १० घण्टा खुला हुने

तु खबर संवाददाता
२०८१ बैशाख १६, आईतवार ०८:५८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको मार्ग कान्तिलोकपथ सडकखण्ड आजबाट बिहान ३ घण्टा र राति १० घण्टा खुला हुने भएको छ ।

उक्त सडकखण्ड बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म खुला हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

सो बारे जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालयले जानकारी गराएको मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारी बताए ।

उनका अनुसार, उक्त नियम आगामी जेठ १५ गतेसम्म संचालन हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडकखण्डको साँघुरो ठाउँमा सडक चौडा तथा मर्मत गर्न बन्द गरिएको हो ।

ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा आउने उक्त बाटो गत चैत्र १ गतेदेखि वैशाख १५ गतेसम्म ४५ दिनका लागि बन्द भएको थियो ।

तर, सडकको मर्मत गर्ने कार्य नसकिएकोले पुनः जेठ १५ गतेसम्म बिहान र रातिको समयमा मात्रै यातायात संचालन गर्न भनिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।