मकवानपुरको पाँच स्थानमा आगलागी
मकवानपुर । मकवानपुर जिल्लाको विभिन्न पाँच स्थानमा एकैदिन आगलागी भएको छ । बुधबार जिल्लाको छुट्टाछुट्टै पाँच स्थानमा आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ ।
आगलागीबाट जिल्लाको बागमती गाउँपालिका वडा नं.९ ढाडे बस्ने चन्द्रमाया स्याङताङको २ तले जस्ताको छाएको कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । कालिश्वर सामुदायिक वनबाट सल्किएको आगोले घर जलेर नष्ट भएको हो । उक्त आगोलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।
त्यस्तै, बकैया गाउँपालिका वडा नं. ४ पाङधुरे दमार बस्ने दिपक जिम्बाको २ वटा जस्ता र खरले छाएको कच्चि गोठमा आगलागी भएको छ । नौलो हरियाली सामुदायिक वनमा लागेको डडेलोबाट आगो सल्किएर घर–गोठमा आगोलागी भएको थियो ।
उक्त आगो प्रहरी, स्थानीयबासी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो । आगोलागीबाट गोठभित्र रहेको २ वटा बाख्रा जलेर मृत्यु भएको छ भने १ वटा बाख्रा घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी, जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ४ झ्यागेस्थित नवराज न्यौपानेको गोठ आगलागी भएको छ । बारीमा बालेको आगोबाट आगो सकिएर गोठमा आगलागी भएको हो । आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको जनाइएको छ ।
त्यस्तै, बुधबार दिउँसो नै इन्द्रसरोवर गाउँपालिका वडा नं.२ सुकौरास्थित रामबहादुर घिसिङको माटो ढुङ्गा, टिनले छाएको २ तले घरमा आगलागी भएको छ । पवली भन्ज्याङ सामुदायिक वनमा लागेको आगो सक्लिएर घिसिङको घरमा आगलागी भएको हो । आगलागीबाट अन्नपात र घरेलु सामाग्री जलेको नष्ट भएको छ ।
प्रहरीले पवली भन्ज्याङ सामुदायिक वनमा आगो लगाएको आरोमा स्थानीय दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा हुनेमा स्थानीय २० वर्षीय अर्जुन बल तामाङ र ३८ वर्षीय सोम बहादुर घिसिङ रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
