हेटौंडा उपमहानगरद्वारा आगलागी पीडितलाई सहयोग
मकवानपुर । आगलागी भई घर पूर्ण रुपमा क्षति भएका हेटौंडा–६, रामनगरका आत्मलाल चौलागाईँलाई खाद्यान्न सामग्री सहयोग भएको छ ।
हेटौंडा उपमहानगरपालिकाले बुधबार आगलागी पीडित चौलागाईँको घरमा पुगेर खाद्यान्न सामग्री चामल, दाल, नुन, तेल, चिउरा, चिनी, साबुन सहयोग गरेको हो ।
हेटौंडा उपमहानगपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेलसहितको संयुक्त टोली पीडित चौलागाईँको घरमा पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।
सो क्रममा आगोले पूर्ण रुपमा क्षति भएको घरको निरीक्षण गर्दै उपप्रमुख बानियाँले क्षति भएको घरको पुनर्निमाणमा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मंगलबार विद्युतको तार सट भई चौलागार्इँको घर पूर्ण रुपमा क्षति भएको थियो ।
