खुल्ला वक्तृत्वकला प्रतियोगितामा आकांक्षा निरौला प्रथम

तु खबर संवाददाता
२०८१ बैशाख ६, बिहीबार ०९:३०

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा आकांक्षा निरौला प्रथम भएकी छन् ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा बुधबार सम्पन्न उक्त प्रतियोगितामा निरौला प्रथम भएकी हुन् ।

उक्त प्रतियोगिता ३१ औं पारिजात स्मृति दिवसको अवसरमा हेटौंडा–१० नम्वर वडा कार्यालयको आर्थिक सहयोग भएको हो ।

प्रतियोगितामा कृतिका लौडारी द्वितीय, सुनिल न्यौपाने तृतीय र प्रियान्सु पोखरेल सान्त्वना भएका थिए । प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गरे ।

‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा घनश्याम घिमिरे, निरा शर्मा र श्रवण वर्तौला निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सो क्रममा युगेश ढकालले नगद राशी ५०० प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा देवराज तिवारी, शान्ति प्रियवन्दना, संप्रस पौडेल, अमृता लामिछाने, जनार्दन खनाल, ऋषिराम पाण्डेयले रचनावाचन समेत गरेका थिए ।

कार्यक्रम आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।