हेटौंडामा खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

तु खबर संवाददाता
२०८० चैत्र २६, सोमबार ०९:३३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता आंचल साहित्य कला पुञ्ज मकवानपुरले पारिजात स्मृति दिवसको अवसरमा आयोजना गर्न लागेको हो ।

आगामी वैशाख ५ गते हुने उक्त प्रतियोगिताबारे आइतबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिएकी हुन् ।

अध्यक्ष सापकोटाले “नेपालको सामाजिक रुपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका” विषयक खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको बताइन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश; ८ हजार रुपैयाँ, ६ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।