शारदा माविले हात पार्यो शिक्षक भलिबलको उपाधि
मकवानपुर । मकवानपुरको हेटौंडामा सम्पन्न पाँचौ जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालय मकवानपुरगढी–५ ले हात पारेको छ ।
हेटौंडाको हुप्राचौरमा सम्पन्न फाइनल खेलमा छिमेकी विद्यालय भानु मावी गढी– ३ लाई पराजित गर्दै शारदा माविले उपाधि हात पारेको हो ।
खेलमा शारद माविले २५–११, १९–२५ र १५–५ को सेटमा पराजित गर्दै नगद २५ हजारसहित उपाधिमा कब्जा जमाएको हो ।
यस्तै, उपविजेता भानुले नगद १५ हजार रुपैयाँसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा बेस्ट स्पाईकर भानु माविका सुमन थिङ, बेस्ट सेटर शारदाका रामचन्द्र छत्कुली तथा सर्वोत्कृष्ट खेलाडी शारदाका आशिष घलान भए । उनीहरुले पनि जनही नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले पुरस्कार वितरण गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजना, शैक्षिक गुणस्तर सुधार समितीको व्यवस्थापन र आधुनिक माविको सह–व्यवस्थापनमा प्रतियोगिताको आयोजना भएको हो ।
