बागमतीमा अनलाइनमार्फत् पटके बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु

तु खबर संवाददाता
२०८० चैत्र १३, मंगलवार १७:१६

हेटौंडा । बागमती प्रदेशमा अनलाइनमार्फत् पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु भएको छ ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनलाइनमार्फत् पटके बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु गरेको हो ।

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणाली सुरु गरेको हो ।

प्रदेश सरकारले हरेक ५० किलोमिटर दुरीलाई १ युनिट कायम गरी एक पटकमा १५० रुपैयाँका दरले पटके रुट इजाजत शुल्क उठाउने गरेका थियो । हरेक ५० किलोमिटरको दुरीमा इजाजत शुल्क १५० रुपैयाँका दरले थप हुने सो मन्त्रालयले जनाएको छ ।

उक्त सेवा पहिलो चरणमा काठमाडौं उपत्यकासहितका ६ वटा यातायात व्यवस्था कार्यालयबाट पाइनेछ । जसमा यातायात व्यवस्था कार्यालय खुर्कोट, सिन्धुली, यातायात व्यवस्था कार्यालय साना÷ठुला सवारी एकान्तकुना, ललितपुर, यातायात व्यवस्था कार्यालय, हेटौडा मकवानपुर, यातायात व्यवस्था कार्यालय, भरतपुर चितवन, यातायात व्यवस्था सेवा कार्यालय काठमाडौँ ढुंगेअड्डा र यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी भक्तपुर रहेका छन् ।