हेटौंडामा ६७ औं सहकारी दिवस मनाइँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही चैत्र १४ गते बुधबार ६७ औं सहकारी दिवस भब्य रुपमा मनाइने भएको छ ।
“सहकारीमा सुशासन: प्रविधि र एकीकरण” भन्ने नाराका साथ बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी विकास बोर्डसंगको सहकार्य एवम् मकवानपुर जिल्ला सहकारी संघ र मकवानपुरका विषयगत सहकारी संघहरुको समन्वयमा विविध कार्यक्रम गरी सहकारी दिवस मनाइने भएको हो ।
सोमबार बागमती प्रदेश स्तरीय ६७ औं सहकारी दिवस मूल समारोह समितिको सचिवालय बैठकले सो अवसरमा सप्ताहब्यापी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
यसअघि नै ६७ औं सहकारी दिवस मनाउन बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो ।
दिवसको अवसरमा हेटौडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रमको आयोजना गरिन मूल समारोह समिति संयोजक देवकोटाले जानकारी दिए ।
उनका अनुसार, सप्ताहब्यापी कार्यक्रम अन्तरगत चैत्र १४ गते प्रदेश भरका सबै सहकारी संघ/संस्थाको कार्यालयमा ६७ औं सहकारी दिवसको नारासहितको ब्यानर राखिनेछ ।
यस्तै, चैत्र १५ गते ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ विषयमा सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापकहरुसँग अन्तरक्रिया, १६ गतेदेखि १९ गतेसम्म सहकारी संघ संस्थाहरुले सहकारी दिवस लक्षित कार्यक्रमहरु संचालन गर्ने, २० गते बिहान ७ः०० बजे हेटौंडा १ चौकीटोलको रोपवे चौरबाट प्रभातफेरी सुरु भई रोयल प्यालेस हेटौंडामा प्रवचन, पुरस्कार तथा सम्मान वितरण गरिने र साँझ बागमती प्रदेश भरका सहकारी संघ–संस्थाहरुले दिपावली गरी सहकारी दिवस समापन गरिने उनको भनाई छ ।
