बालश्रम निबारणमा स्थानीय तह र शिक्षकको भूमिका विषय गोष्ठी
मकवानपुर । मकवानपुरको मनहरीमा बालश्रम निबारणमा क्षेत्रगत अबधारणा र स्थानीय तह तथा शिक्षकको भूमिका विषयक प्रशिक्षण गोष्ठी भएको छ ।
कार्यक्रम बाल कल्याण समाज मकवानपुर, स्वतन्त्रता अभियान र ग्लोबल मार्चको संयुक्त आयोजना एवम् मनहरी गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रम गाउँपालिकाको उपाध्यक्ष सिता पुलामी मगर (रेखा) को सभाध्यक्षतामा भएको हो ।
सो क्रममा उनले तिनै तहको सरकारबीच समन्वय भएमा छिटो बालश्रम मुक्त, बाल विवाह मुक्त, सबैका लागि शिक्षा निःशुल्क गराउन सकिने भन्दै त्यसको लागि संघीय र प्रदेश सरकारले नीतिगत र क्रमिक रुपमा स्थानीय तहसँग सहकार्य गर्न आग्रह गरिन् ।
उपाध्यक्ष मगरले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधी २०७७ अनुरुप पालिकाले कार्य गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदी, दिगो विकाश लक्ष्य ८ दशमलब ७ का लागि नागरिक समाज संजाल बागमती प्रदेशको अध्यक्ष तथा बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा, ग्लोबल मार्चको कार्यक्रम प्रबन्धक एन्जेला सोलानो डोन्सेल, स्वतन्त्रता अभियानको कार्यक्रम प्रबन्धक प्रतिक्षा केसी, पालिकाको शिक्षा शाखा प्रमुख, सामाजिक शाखा प्रमुख, विभिन्न विद्यालयका शिक्षकहरु, पालिकाको विभिन्न शाखाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम बाल अधिकारकर्मी आत्माराम थापाले सहजीकरण गरेका थिए । साथै उनले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ मा भएको मुख्य व्यवस्थाहरु, बालश्रम अन्त्यको लागि यसअघि तयार पारिएको कार्ययोजनाको बारेमा जानकारी गराएका थिए ।
