हेटौंडामा निःशुल्क स्वास्थ्य परीक्षण, ३३१ जनाले लिए सेवा
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ थानाभर्याङले शनिबार आयोजना गरेको हो ।
मकवानपुर सहकारी अस्पतालसँग सहकार्य गरी सञ्चालित उक्त शिविरमा ३३१ जनाले सेवा लिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, शिविरमा मकवानपुर सहकारी अस्पतालका डा.सुन्दर श्रेष्ठ, डा. हरिबहादुर खड्का, डा.कमल दवाडी, डा.राघवेन्द्र ठाकुरलगायत स्वास्थ्यकर्मीको टिमले बिरामीको स्वास्थ्य चेकजाँच गरेका थिए ।
शिविरमा स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।
शिविर कार्यक्रम सामुदायिक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक विष्णुकुमार केसीको प्रमुख आतिथ्यतामा भएको हो ।
