हेटौंडामा प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित पल्पसा सदनमा सुरु भएको उक्त प्रदर्शनी मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समितिले आयोजना गरेको हो ।
उक्त प्रदर्शनीको एक कार्यक्रमबीच प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी हुन् । सो क्रममा बोल्दै उनले महिलाहरुलाई घरबाट बाहिर निस्कन र सामाजिक रुपमा अघि बढन चुनौती रहेको बताइन् ।
मन्त्री मोक्तानले उद्यमशीलताको क्षेत्रमा महिलालाई प्रोत्साहित गर्न स्थानीय तहमार्फत गरिने कामहरु प्रभावकारी हुने भन्दै प्रदेश सरकारले उद्यमशीलतालाई जोडदिन, दक्ष जनशक्ति निर्माण गर्न, बजार व्यवस्थापन गर्न, महिला उद्यमी लक्षित कार्यक्रमहरु गर्न योजना बनाएको उल्लेख गरिन् ।
यस्तै, बागमती प्रदेश सभा सदस्य एवम् कार्यक्रममा विशिष्ट अतिथि एकालाल श्रेष्ठले प्रदर्शनीलाई व्यापक बनाउँदै धेरैभन्दा धेरै उपभोक्तामा जानकारी पुर्याउनुपर्ने जोड दिए । उनले हस्तकला व्यवसाय प्रबद्र्धन गर्न प्रदेश सरकारले काम गरिरहेको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा, आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख तुलसी प्रसाद भट्टराईलगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता” भन्ने नाराका साथ आयोजना गरेको उक्त प्रदर्शनी चैत्र ६ गतेसम्म संचालन हुनेछ ।
