‘हाम्रा परम्परा र संस्कृतिले विश्वमञ्चमा विशिष्ठ पहिचान दिएको छ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रा परम्परा, कला र संस्कृतिले हामीलाई विश्वमञ्चमा विशिष्ठ पहिचान दिएको बताएका छन् ।
आज सोमबार मनाइँदै गरिएको २५५१ औं ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् ।
शुभकामना सन्देशमा प्रमुख शर्माले यसमा पनि हाम्रा रोचक तथा मोहक चाडपर्वहरुले हामीलाई थप समृद्ध बनाएको बताएका छन् । आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होेसार पनि एक महत्वपूर्ण पर्व भएको प्रमुख शर्माको भनाई छ ।
प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ,‘विभिन्न ल्होसार मध्ये ग्याल्पो ल्होसार पर्व हामी नेपालीहरुको राष्ट्रिय संस्कृतिको अभिन्न अंग बन्न पुगेको छ ।’
प्रमुख शर्माले यो पर्वले आपसी सद्भाव एवम् सहिष्णुता कायम गर्दै र राष्ट्रिय एकता हासिल गर्नका लागि सघाउ पुर्याउँदै आएको उल्लेख गरे ।
साथै, उनले हाम्रो देशको संस्कृति संरक्षणका लागि यस्ता चाडपर्व कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
