हेटौंडाको जनप्रिय बालमैत्री विद्यालय घोषित

तु खबर संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १७:५३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, हटियास्थित जनप्रिय प्राविधिक माविलाई बालमैत्री विद्यालय घोषणा गरिएको छ ।

मंगलबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले एक कार्यक्रमबीच जनप्रियलाई बालमैत्री विद्यालयको रुपमा घोषणा गरेकी हुन् ।

सो क्रममा बोल्दै नगर प्रमुख लामाले मानव विकासको जग नै बालविकास भएको बताइन् । उनले बालबालिकाको चौतर्फी विकास नभए समाज र देशको विकास हुन नसक्ने भन्दै अब अन्य विद्यालयहरुले पनि बालमैत्री घोषणाको तयारी गर्नुपर्नेमा जोड दिइन् ।

उक्त अवसरमा विद्यालय प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले जनप्रिय बाल समुहले सञ्चालन गरेको शैक्षिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला र राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण घिमिरेलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रम बाल समूहकी अध्यक्ष सृष्टि अधिकारीको अध्यक्षतामा भएको हो ।