स्थानीय तहले विपन्न बिरामीको नाम फोटोसहित सार्वजनिक गर्नुपर्ने

तु खबर संवाददाता
२०८० फाल्गुन २१, सोमबार ०९:३७

काठमाडौं । स्थानीय तहले विपन्न नागरिकको सिफारिस बनाएका बिरामीको विवरण फोटोसहित सार्वजनिक गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी स्थानीय तहलाई विपन्न बिरामीको नाम प्रत्येक महिना फोटोसहित सार्वजनिक गर्न भनिएको हो ।

सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका अनुसार विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि रोग अनुसार आर्थिक सहुलियत दिएको छ ।

उक्त निर्देशिका अनुसार गठित भुक्तानी व्यवस्थापन समितिको गत २५ पुसमा बसेको बैठकले विपन्न नागरिकको सिफारिस पाएका बिरामीको नाम स्थानीय तहले सूचना पाटीमा फोटोसहित सार्वजनिक गर्नुपर्ने निर्णय गरेको थियो ।

विपन्न नागरिक सिफारिसको दुरुपयोग भएको हुनसक्ने आशंकाका आधारमा समितिले स्थानीय तहलाई फोटोसहित नाम सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको समितिले जनाएको छ ।