सुनसरीमा घरमा आगलागी हुँदा महिलाको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन २०, आईतवार १०:२५
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको छ ।

अर्को कोठामा उनका छोराबुहारी सुत्ने गरेका थिए । उनीहरुले आगो कोठामा फैलिसकेपछि मात्र आफूहरूले थाहा पाएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएकाले अन्यत्र फैलन नपाएको जनाइएको छ ।

आगोलागी के–कति कारणले लागेको भन्ने विषयमा नखुलेको र प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।