हेटौंडामा व्यवस्थापक र लेखापाललाई तालिम
मकवानपुर । मकवानपुरको हेटौंडामा सहकारीका व्यवस्थापक तथा लेखापालहरूका लागि दुई दिने कोपोमिस तालिम आयोजना गरिएको छ । तालिम हेटौंडा उपमहानगरपालिकाका सहकारी महाशाखाले आयोजना गरेको हो ।
शनिबारबाट सुरु भएको तालिम हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
सो क्रममा प्रमुख अतिथि रहेका बानियाँले संस्थाको आर्थिक गतिविधिलाई पारदर्शी बनाउन कोपोमिस तालिम प्रभावकारी हुने बताए । उपप्रमुख बानियाँले तालिमबाट सिकेका ज्ञानलाई वयवहारमा परिणत गर्न सबैलाई आग्रह गरे ।
तालिममा हेटौंडा उपमहानगरपालिका भित्र रहेका सहकारी संस्थाका २६ जना व्यवस्थापक र लेखापालको सहभागिता रहेको हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार, तालिममा सहभागिता भएकामध्ये धेरैजना दूग्ध उत्पादक र कृषि सहकारी संस्थाका रहेका छन् भने थोरै संख्यामा बचत सहकारीका व्यवस्थापक तथा लेखापाल रहेका छन् ।
दुई दिने तालिममा कोपोमिस सफ्टवेयरको विषयमा प्रशिक्षक किरण पौडेलले सहजीकरण गर्नेछन् ।
