बागमती प्रदेश सभा बैठक फागुन २९ गतेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १५:३७

मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही फागुन २९ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले फागुन २९ गते ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।

आज प्रदेश सभाको दुई वटा बैठक बसेको थियो । आज बसेको पहिलो बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन समिति गठनको प्रस्ताव टेबुल भएको थियो ।

सभामुख पाठकले उक्त प्रस्ताव सत्तापक्षका सांसद रत्न प्रसाद ढकाललाई टबुल गर्न समय दिएका थिए । सांसद ढकालले सोही अनुरुप सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुको सहमतिमा सो प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

यस्तै, सोही बैठकले साविक सार्वजनिक लेखा समितिको सदस्यमा रहनुभएका ठाकुर प्रसाद ढकाललाई अब शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सदस्यमा हेरफेर गर्न अनुमति प्रदान गरेको छ ।

यस्तै, आजै बसेको प्रदेश सभाको दोस्रो बैठकले प्रदेश हस्तकलाग्राामको स्थापना तथा संचालन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सम्बन्धित समितिमा पूर्ण छलफलमा पठाउनका लागि स्वीकृती प्रदान गरेको छ ।