बुधबार स्थगित बागमती प्रदेश सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० फाल्गुन १७, बिहीबार ०८:२३

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बुधबार बिहान ११ः३० बजे बस्ने भनिएको प्रदेश सभा बैठक आज बस्ने भएको हो ।

प्रदेश सभा सचिवालयले बुधबार विशेष कारणबस देखाउँदै आज बिहान साढे ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको थियो ।

प्रदेश सभाको वर्षे अधिवेशनको असारमा बजेट प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्ष लगायतका दलहरुले असन्तुष्टि जनाई संसद केही दिनको लागि अवरुद्ध गरेपछि प्रदेश सरकार र प्रतिपक्षी दलहरुको बीचमा ३ बुँदे सहमति भएको थियो ।

हाल हिउँदे अधिवेशन सुरु हुँदा पनि प्रदेश सरकारले प्रतिपक्षी दलहरुसँगको सहमति कार्यान्वयन गर्न नखोजेकोले उक्त सहमति कार्यान्वयन गर्न भनी प्रतिपक्षीहरुले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकारले आफ्नो तर्फबाट कुनै आश्वासन दिन नसकेको कारणले बुधबारको बैठक स्थगित गराउनु परेको प्रतिपक्ष दलका नेताहरुले बताए ।