रुकुम पश्चिममा २८ हजार अस्थायी आवस निर्माण
रुकुम पश्चिम । रुकुम पश्चिममा चार महिनाको अवधिमा २८ हजार भन्दा बढी अस्थायी आवास निर्माण गरिएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको उक्त जिल्लामा सो अवधिमा २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको हो ।
जिल्लाभर सात हजार तीन हजार नौ सय १२ अस्थायी आवास निर्माणको चरणमा रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार, जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार नौ सय ६२ मध्ये अझै तीन हजार नौ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेका उनले बताए ।
हालसम्मम सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा आठ हजार नौ सय ३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा सात सय आठ अस्थायी आवास निर्माण गरिएको छ ।
चौरजहारी नगरपालिकामा छ हजार एक सय ९४, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणी गाउँपालिकामा तीन हजार ४९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण गरिएको छ ।
अब जिल्लामा पहिचान भएका एक हजार सात सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको सहायक प्रजिअ बढुवालले बताए ।
