स्पेनको आवासीय भवनमा आगलागी हुँदा चारको मृत्यु
भ्यालेन्सिया । स्पेनको भ्यालेन्सिया सहरमा भयानक आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । सहरको एउटा गगनचुम्बी आवासीय भवनमा आगो लागेको आकस्मिक सेवाले बताएको छ ।
१४ तल्ले भवन आगलागीको चपेटामा आउँदा अन्य भवन समेत आगलागी फैलिएको थियो । अग्नि नियन्त्रकहरूले बार्दलीबाट मानिसहरूको उद्धार गरिरहेका थिए ।
उक्त घटनामा परेर १९ जना बेपत्ता रहेको आशंका गरिएको छ । घटनामा कम्तीमा ६ अग्नि नियन्त्रक र एक बालक घाइते भएको बताइएको छ ।
क्रेनको सहायताले अग्निनियन्त्रकहरूले घरभित्रका कयौँ बासिन्दाहरूको उद्धार गरेका थिए ।
सो घटनालगत्तै नजिकै एउटा चौरमा अस्थायी अस्पताल बनाएर घाइतेहरूको उपचार सुरु गरिएको थियो । विस्थापितहरूलाई होटेलमा बस्नका लागि अधिकारीहरूले अनुरोध गरेका छन् ।–एजेन्सी
