यस्ता छन् बागमती प्रदेश मन्त्रीपरिषद् बैठकको निर्णय

तु खबर संवाददाता
२०८० फाल्गुन ९, बुधबार ०९:४३
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारको मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक विभिन्न निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रवृत्ति वापतको २ करोड १० लाख रुपैयाँ थप बजेट विनियोजन गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले जानकारी दिए । उनका अनुसार बजेट निर्माणको चरणमा छुट भएकाले उक्त रकम थप दिने निर्णय गरिएको हो ।

त्यस्तै, बैठकले समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिका लागि अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले उक्त समितिका लागि १४ जना विभिन्न तहका कर्मचारीहरुको अस्थायी दरवन्दी स्वीकृत गरेको हो । सो दरवन्दीमा कार्यरत रहने कर्मचारीको पदावधी असार मसान्त सम्म रहने र त्यसपश्चात आवश्यकता अनुसार थप्ने वा हटाउने बारे निर्णय हुनेछ ।

यस्तै, बैठकले विशेष पद तोक्ने सम्बन्धमा समेत निर्णय गरेको छ । प्रदेश सरकारले जारी गरेको प्रदेश निजामती सेवा ऐन २०७९ अनुसार ११ औं तह (सचिव) पदमा समुह नरहने व्यवस्था गरेको छ । तर, प्राविधिक कार्यालयहरुमा भने सेवा र समूह तोकेर नै कर्मचारी पठाउनु पर्ने भएकाले विशेष पद तोक्ने निर्णय गरिएको मन्त्री लामाले बताए ।

बैठकले काभ्रेको नमोबुद्ध नगरपालिकालाई झोलुंगे पुल निर्माणका लागि अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । यसअघि २ स्थानीय तह जोड्नो सो पुल निर्माणका विषयमा विवाद रहेकाले मन्त्रिपरिषद बैठकले नमोबुद्ध नगरपालिकालाई अख्तियारी दिएको हो । सो पुलले काभ्रृेको नमोबुद्ध र रोशी गाउँपालिकालाई जोड्ने छ ।

विपन्न दलित शसक्तिकरण कार्यविधि पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ भने सामाजिक विकास मन्त्रालयबाट प्रस्ताव पेश भएको शिक्षा नीति २०८० लाई स्विकृत गर्ने निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य मन्त्रालय अन्र्तगतको सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका स्वीकृत गरेको छ । बैठकले प्रदेश स्वयम्सेवक व्यूरो गठनका लागि कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री लामाले बताए ।