बागमती प्रदेशसभाको अधिवेशन बैठक आह्वान गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले यही फागुन १५ गते ३ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री बहादुर सिं लामाले जानकारी दिए ।
उक्त दिनका लागि प्रदेशसभाको अधिवेशन प्रदेश प्रमुखले आह्वान गर्नेछन् । मन्त्रिपरिषद् निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले प्रदेशसभा अधिवेशन आह्वान गर्न पत्राचार गर्ने उनको भनाई छ ।
प्रदेशसभा अधिवेशन आह्वान गर्नु पूर्व फागुन १३ मा सर्वदलीय बैठक बोलाउने सरकारको तराी रहेको उनले बताए । सो सर्वदलीय बैठकमा सरकार र प्रतिपक्ष दलहरु बिचको विवाद, बजेट पारित गर्दाको समयमा भएको सहमतीका विषयमा समझ्दारी बनाउने तयारी गरिएको मन्त्री लामाले बताए ।
बागमती प्रदेशसभाको बैठक यसअघि गत असोज २२ गते बसेको थियो । त्यसयता प्रदेशसभा बैठक बस्न सकेको छैन ।
