निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेशन संचालन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा एक करोड रुपैयाँभन्दा बढी लगानीमा विद्युतीय सवारी साधनको लागि दुर्गा माता चार्जिङ स्टेशन संचालनमा आएको छ ।
पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढ्न थालेसँगै हेटौंडा–९ कर्रामा निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेशन संचालनमा आएको हो ।
उक्त स्टेशनको हेटौंडा–९ का वडाध्यक्ष सुकराम केसीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । उपेन्द्र सापकोटा, बिप्लप पौडेल र सन्तलाल मिजारले संयुक्त लगानीमा चार्जिङ स्टेशन संचालनमा ल्याएका हुन् ।
चार्जिङ स्टेशन एकैपटक ३ वटा गाडी चार्ज गर्न सकिन्छ । चार्जिङ स्टेशन परिसरमा रेष्टुरेन्टसँगै गाडी धुने सुविधा पनि रहेको संचालक उपेन्द्र सापकोटाले जानकारी दिए ।
साथै उनले सेवाग्राहीको चापका आधारमा चार्जिङ स्टेशनको क्षमता पनि विस्तार गर्दै लगिने बताए ।
