फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी विजयी

तु खबर संवाददाता
२०८० फाल्गुन २, बुधबार १६:२२

मकवानपुर । रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाले बुधबार आयोजना गरेको फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी विजयी हाँसिल गरेको छ ।

हेटौंडा–५ स्थित क्याम्प रंगशालामा आयोजना भएको उक्त प्रतियोगितामा महिला पत्रकारलाई पराजित गर्दै महिला अधिकारकर्मीले विजयी हाँसिल गरेको हो ।

रेडियोले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज दोश्रो दिन फुटबल प्रतियोगिताको आयोजना गरेको हो । सो क्रममा महिला अधिकारकर्मीले महिला पत्रकारलाई २–० ले पराजित गरेको हो ।

महिला अधिकारर्कीको तर्फबाट पहिलो गोल गैर सरकारी संस्था मकवानपुरका अध्यक्ष रमिला सापकोटाले गरेकी थिइन् भने दोस्रो गोल महिला अधिकारकर्मीको तर्फबाट सुनिरा लामाले गरेकी थिइन् ।

जितसँगै महिला अधिकारकर्मीले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । उपबिजेता भएका महिला पत्रकार टोलीले पनि प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रम रेडियो थाहासञ्चार हेटौंडाका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता तथा हेटौंडा–५ का वडाध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यतामा भएको होे ।

कार्यक्रमा गैर सरकारी संस्था बागमती प्रदेशका अध्यक्ष आरती पाठक, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष धुर्व अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारीलगायतको आतिथ्यता रहेको थियो ।