रेडियो मकवानपुरद्वारा वक्तृत्वकलाको आयोजना, उप्रेती प्रथम

मकवानपुर । रेडियो मकवानपुरले बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
रेडियोको १४ औं वार्षिकोत्सव एवम् रेडियोको सन्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं स्थापना दिवसको सन्दर्भमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार वक्तृत्वकलाको आयोजना गरिएको हो ।
प्रतियोगितामा हेटौंडा–६ की शितिष्मा उप्रेती प्रथम, हेटौंडा–१९ की सपना बर्तौला द्वितीय, हेटौंडा ११ की सायना सापकोटा तृतीय र हेटौंडा ७ की प्रमिला थिङ सान्त्वना भएकी छिन् ।
प्रथम, द्वितीय, तृतीय र शान्त्वना भएकाहरुले क्रमशः नगद १० हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । हेटौंडा उपमहानगरको प्रत्येक वडाबाट एक÷एक जना सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरिएको थियो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा सिविन बाल हेल्पलाइन मकवानपुरका कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली, साहित्यकार शान्तिप्रिय वन्दना र माइती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
रेडियो मकवानपुर सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले बालमैत्री नगर निर्माणमा सबै सरोकारवालाको भूमिका रहनुपर्ने धारणा राखे । सामुदायिक रेडियोले आफ्नो कर्तव्य पूरा गर्दै यो विषयमा बालबालिकाकै सहभागितामा वक्तृत्वकला आयोजना गरेकोमा उनले खुसी व्यक्त गरे ।
यस्तै हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले वालमैत्रीको विषयलाई सबै सरोकारवालाले उत्तिकै महत्त्व र साथ दिनुपर्ने धारणा राखिन् । टिप्पर, ट्याक्टर र होटलमा बालकहरु प्रयोग हुनु चुनौतीको विषय भएको उनको भनाई थियो ।
कार्यक्रममा हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, दिव्यतारा सहकारीका सचिव ईश्वर पन्डित, कार्यसमिति सदस्य माधवकुमार न्यौपाने, व्यवस्थापक रमेश कोइराला, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, नेपाली लेखक संघ मकवानपुर अध्यक्ष छवि अनित्य लगायतको आतिथ्यता थियो ।
माघ १५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रमको आज सोमबार समापन हुँदैछ । समापनमा दुइ जनालाई सामुदायिक सम्मान समेत प्रदान गरिने रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।