जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
बा २ च ४४५० नम्बरको जिप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा परेर चार भुटानी र एक नेपाली नागरिक गरी पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची र ५६ वर्षीय फुँङ रहेका छन् ।
घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
