‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत

तु खबर संवाददाता
२०८० माघ ११, बिहीबार १८:३५
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० लाई स्वीकृत प्रदान गरेको छ ।

बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले समुदायमा आधारित उक्त कार्यक्रम कार्यान्वयन कार्यविधिलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यसैगरी, बैठकले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका २०८०, बागमती प्रदेश स्तरीय ज्येष्ठ नागरिक नीति २०८० र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८० समेत स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै, बैठकले सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उनको भनाई छ ।

मन्त्रीपरिषद् बैठक प्रदेशका मुखयमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको हो ।