२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ता

तु खबर संवाददाता
२०८० माघ ६, शनिबार ०९:४६

जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम प्राप्त गरेका छन् ।

गत कात्तिकमा गएको शक्तिशाली भूकम्पबाट प्रभावित भएको ४२ हजार पाँच सय २४ जनामध्ये २७ हजार ९१ पीडितले पहिलो किस्ताको रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्ति अनुसार, भेरी नगरपालिकाका ६ हजार ६ सय ३४ पीडितमध्ये ४ हजार ६ सय ४२ ले पहिलो किस्ताको रकम प्राप्त गरेका छन् ।

यसैगरी, नलगाड नगरपालिकाका जम्मा ८ हजार ९७ जना पीडितमध्ये ७ हजार १ सय ५० जनाले, छेडागाडमा ८ हजार २ सय ५ पीडितमध्ये २ हजार १ सय ८८ जनाले, बारेकोटमा ५ हजार ५ सय ८६ पीडितमध्ये ४ हजार ६ सय ८७ जनाले पहिलो किस्तावापतको रकम प्राप्त गरेका छन् ।

यस्तै, कुशे गाउँपालिकाका ५ हजार २ सय ८७ परिवारमध्ये ४ हजार एक सय ५४ परिवारले, जुनिचाँदे गाउँपालिकामा ५ हजार ४ सय ६ पीडितमध्ये १ हजार १ सय १३ परिवारले, शिवालय गाउँपालिकामा ३ हजार ३ सय ९ जनामध्ये ३ हजार १ सय ४७ परिवारले पहिलो किस्ता बापतको रकम प्राप्त गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।