जाजरकोट भूकम्प : लाभग्राहीको संख्या साढे ७९ हजार नाघ्यो
काठमाडौं । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको संख्या साढे ७९ हजारभन्दा बढी पुगेको छ ।
पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएसँगै लाभग्राहीको कुल संख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यसअघि ६७ हजार लाभग्राही रहेको थियो । प्राधिकरणले यसअघि लाभग्राही ८० हजार एक सय ५० पुग्ने अनुमान गरेकामा अहिले सोही हाराहारीमा कायम भएको प्राधिकरणको निजी आवास तथा पुनःनिर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार, लाभग्राहीका लागि सरकारले हालसम्म रू दुई अर्ब २६ करोड निकासा गरिसकेको छ ।
केन्द्रबाट निकासा गरी पठाइएको रकममध्ये हालसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट स्थानीय तहको विपद् व्यवस्थापन समितिमा रू एक अर्ब ९० करोड गएको र स्थानीय तहबाट लाभग्राहीको खातामा रू एक अर्ब २६ करोड पुगिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी गराए ।
तीमध्ये हालसम्म ५० हजार लाभग्राहीको खातामा रकम पुगिसकेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भइसकेको छ भने १० हजार घरको निर्माण कार्य जारी रहेको उनको भनाई छ ।
बाँकी परिवारमा अनुदान सम्झौताको चरणमा रहेको छ ।
गत कात्तिक १७ गते शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर ठूलो जनधनको क्षति हुनेगरी पराकम्प भएको थियो ।
