बागमती सरकारद्वारा ७ वटा कार्यविधि स्वीकृत
मकवानपुर । बागमती प्रदेश सरकारले ७ वटा कार्यविधि स्वीकृत गरेको छ ।
आइतबार साँझ मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले ७ वटा कार्यविधि स्वीकृत गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार जनचेतनामुलक प्रचारक सामग्री निर्माण, प्रशारण तथा वितरण कार्यविधि २०८० र मौलिक चलचित्र निर्माण तथा प्रर्वद्धनमा सहयोग कार्यक्रम सञ्चालन कार्यविधि २०८० स्वीकृत भएको हो ।
त्यसैगरी द्धन्द्ध पीडितको लागि सबलिकरण कार्यविधि २०८० र कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको एक वडा एक कृषि पशुपन्छि तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वय कार्यविधि २०८० पनि आजै स्वीकृत भएको हो ।
स्वास्थ्य मन्त्रालयतर्फको एक विद्यालय एक नर्श कार्यक्रम सञ्चालनको लागि दोस्रो संशोधन कार्यविधि २०८०, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरिएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।
आजकै बैठकले दुर्गम क्षेत्र विषेशज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०८० समेत स्वीकृत गरेको छ ।
