हेटौंडामा मंसिर १२ गतेदेखि एसियाली बुद्धिचाल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको हेटौंडामा यही मंसिर १२ गतेदेखि अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने भएको हो । उक्त प्रतियोगितामा मंसिर १७ गतेसम्म संचालन हुने संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद काठमाडौं, बागमती प्रदेश खेलकुद विकास परिषद् हेटौंडा, हेटौंडा उपमहानगरपालिका र हेटौंडाको विभिन्न वडाहरुको आर्थिक सहयोगमा हुन लागेको उनले बताए ।
उनका अनुसार, प्रतियोगितामा विभिन्न देशबाट करिब १३० जना खेलाडीले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिता ९ राउण्डमा खेलाइनेछ ।
सो प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं र छैटौंदेखि दशौंसम्म हुनेले क्रमशः १ लाख २५ हजार रुपैयाँ, ७५ हजार रुपैयाँ, ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ, २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगीहरुका लागि ५ रात ६ दिनको लागि निःशुल्क खाने बस्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
