बागमती प्रदेश सरकारद्वारा तीन कर्मचारीलाई बढुवा गर्ने निर्णय

तु खबर संवाददाता
२०८० कार्तिक २२, बुधबार १८:१३
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले तीन जना कर्मचारीलाई ११ औं तह (प्रदेश सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कार्यरत तीन जनालाई कर्मचारीलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशक आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडामा कार्यरत डा. गौरीमान श्रेष्ठ, पुष्प विकास केन्द्र गोदावरीमा कार्यरत सुधिर श्रेष्ठ र कृषि केन्द्र ललितपुर कार्यरत नारायण कुमार श्रेष्ठलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार, मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा भएका डा. गौरीमान श्रेष्ठलाई सम्बन्धित कार्यालयमा पदस्थापन गरिएको छ भने सुधिर श्रेष्ठलाई कृषि विकास निर्देशनालय हेटौंडामा र नारायण प्रसाद श्रेष्ठलाई कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र भण्डारा चितवनमा पदस्थापन गरिएको छ ।