दुर्घटनामा परेर घाइते मकवानपुरका लामाको मृत्यु
मकवानपुर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरका दिनेश लामाको मृत्यु भएको छ ।
बकैया–६ गबरस्थान बस्ने २८ वर्षीय लामाको पूरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत कात्तिक १४ गते धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया–५ तिनतलेमा बा.प्र.०३–००१ क ०७९२ नम्वरको मिनीट्रक (पानी लोड) आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल खसी दुर्घटना भएको थियो ।
हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको उक्त मिनीट्रक दुर्घटना हुँदा लामा गम्भीर घाइते भएका थिए । उनलाई हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि सोही दिन भरतपुरको पुरानो मेडिकल कलेज लगिएको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लामा उक्त मिनीट्रकका सहचालक रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
यस्तै, सोही दुर्घटनामा परेर ट्रकमा सवार बकैया गाउँपालिका–७ बस्ने २६ वर्षीय युबराज सापकोटा घाइते भएका छन् । उनको हेटौंडा अस्पतलामा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लेवट बस्ने ३२ वर्षीय हर्कबहादुर ब्लोनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
