दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक १५, बुधबार १०:३०
File Photo

दाङ । दाङमा मंगलबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका–२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा सवारी दुर्घटना हुँदा तरकारी बोकेको पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई उपचारका लागि लमही अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङ प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडी सवार राजपुर–२ की २६ वर्षीया सविना यादव घाइते भएकी छन् । उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।