मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जना घाइते

तु खबर संवाददाता
२०८० कार्तिक १४, मंगलवार १८:००

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ तिनतलेमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

दिउँसो पौने ३ बजेको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा.प्र.०३–००१क ०७९२ नम्वरको मिनीट्रक (पानी लोड) आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल खसी दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घाइते हुनेहरुमा ट्रकमा सवार बकैया गाउँपालिका–७ हर्दा बस्ने २६ वर्षीय युबराज सापकोटा र ट्रकका सहचालक बकैया–६ गबरस्थान बस्ने २८ वर्षीय दिनेश लामा रहेका छन् ।

घाइतेमध्ये दिनेशको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

अर्का घाइते युबराजको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको उनको भनाई छ ।

प्रहरीले ट्रक चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लेवट बस्ने ३२ वर्षीय हर्कबहादुर ब्लोनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।