डोजरको ठक्करबाट वृद्धको मृत्यु
गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । डोजरको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका–१४ का ९२ वर्षका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार, तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु १ क ५०२४ नम्बरको डोजरले पैदलयात्री सुनारलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले डोजर चालक पाल्पाको माथागढी गाउँपालिका–७ रतवास बस्ने २९ वर्षीय कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
