आधारभुत विद्यालयलाई स्टेसनरी र खेलकुद सामग्री हस्तान्तरण
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री आधारभुत विद्यालयलाई स्टेसनरी र खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार बिहान एक कार्यक्रमबस्च विद्यालयको विपन्न तथा गरिब विद्यार्थीको सहजताको लागि कापी, कलम, सिसाकलमसहितको स्टेसनरी सामग्री र फुटबल सहयोग गरिएको हो ।
कार्यक्रम संयोजक चुडामणी अधिकारी गोपालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षता तथा जेसीआई चैनपुर प्रस्तावितका अध्यक्ष सल्लाहकार ज्योतिराज लुइँटेलको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा उक्त विद्यालयका शिक्षक विजय थोकरले सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्यको लागि अनुरोध गरे ।
यस्तै, प्रमुख अतिथी लुइँटेलले सामाजिक कार्यसँगै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि काम गर्न अनुरोध गरे । जेसीज अभियानलाई सार्थकता दिन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

यस्तै, जेसीज सप्ताह अन्तरगत सोमबारै दिउँसो स्थानीय शिवशक्ति टोल विकास संस्थाको विशेष अनुरोधमा मनहरी गाउँपालिका वडा नम्वर ३ लामिटारमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको थियो ।
गाउँमा लागूऔषध दुर्व्यसन बढेको भन्दै टोल विकास संस्थाले कार्यक्रमका लागि अनुरोध गरेको हो । कार्यक्रम संयोजक सुवास खड्काको संयोजकत्वमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी सहायक निरीक्षक कृष्ण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुर रिकभरिङ समूहका महासचिव सन्दिप शाक्य, साहारा समूहका अनिल तामाङ र सहायक निरीक्षक न्यौपानेले सहजीकरण गरेका थिए ।
सो कार्यक्रममा शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष इन्दिरा राई, जेसीज सप्ताह सहमुल कार्यक्रम संयोजक मिलन ढुंगानालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
