सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गयो
काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । सिन्धुपाल्चोक, दाङ र कैलाली गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानमा भएको सवारी दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ अधेरीस्थित सडकमा बा।३ ख ५५४ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया माईली तामाङको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता दाङको लमही नगरपालिका–१ सुनडबरीस्थित सडकमा भालुवाङबाट लमहीतर्फ जाँदै गरेको लु।६९ प ४१३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया राधिका घर्तिमगरको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–५ स्थित सडकमा सु.प.प्र ०१–०११ प ७६७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–५, ढूङ्गेबजार बस्ने २८ वर्षीय श्याम बिनाडीको घटनास्थलमै मृत्यु भएको छ ।
उक्त दुर्घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
