मनहरी–७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

तु खबर संवाददाता
२०८० आश्विन २८, आईतवार १५:३८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बिजौनामा नवनिर्मित वडा कार्यालय भवनको आइतबार उद्घाटन गरिएको छ ।

उक्त नवनिर्मित भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

सो क्रममा बोल्दै नेता बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्र पछि धेरै उत्तरचढावका बाबजुद स्थानीय तहको स्थापना पछि बनेको वडा कार्यालय भवनबाट अब जनताले सहज रुपमा सम्पूर्ण सेवा लिन पाउने भन्दै खुसी व्यक्त गरे ।

संघीयतामा सबैको अस्थित्व र पहिचानलाई स्थायित्वको लागि स्थानीय तह अपरिहार्य रहेको बताउँदै उनले जनताको अवस्था परिवर्तन गर्न स्थानीय निकायको भूमीका महत्वपूर्ण रहेको उल्लेख गरे ।

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि निजामती कर्मचारी र राजनीतिमा भएका गल्ती कमजोरीलाई क्रमशः सुधार गर्दै लानुपर्ने बताउँदै नेता बानियाँले नजिकिँदै गरेको चाडपर्व विजयादशमी, शुभ दिपावली, छठ पर्व, क्रिसमसलगायतका चाडपर्वहरुको शुभकामना दिए ।

मनहरी–७ का वडाध्यक्ष ठाकुरराम तितुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुईटेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिका कार्यकारी अध्यक्ष शिवप्रसाद खनाल, नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा एमाले मनहरी अध्यक्ष नवीन सुवेदी, मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेती, मनहरी शिक्षा श्रोतव्यक्ति विदुर थापा, मनहरी ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, मनहरी ७ का वडा सदस्य नवराज सुवेदी, मनहरी गाउँपालिकाका कार्यकारी अधिकृत मोहनकुमार श्रेष्ठ, डिपार्ट सामुदायिक वन मनहरीका अध्यक्ष डम्बरबहादुर मोक्तानलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

मनहरी गाउँपालिकाको बजेटमा रत्नकुमारी एण्ड सन्स् प्रालि हेटौंडाले ८७ लाखमा सो भवन निर्माण गरेको वडाध्यक्ष तितुङले जानकारी दिए ।

कार्यक्रममा वडाभित्र रहेका रमन्टार मावि र रोटरी माविमा टाढा–टाढाबाट अध्ययनका लागि आउने जेहेन्दार छात्रछात्राहरुलाई दुई लाख रुपैयाँ बराबरको २३ वटा साईकल वितरण गरिएको थियो ।