नारायणी सहकारीको २७ औं साधारणसभा सम्पन्न
मकवानपुर । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, हेटौंडा उपमहानगरपालिका ९ का वडा सदस्य विष्णु राना, निवर्तमान वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक बद्री लम्साल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाका अध्यक्ष डा। गणेश लामा, शिवम् सिमेन्टका बिक्रम खतिवडा, कुष्माण्ड त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरी न्यौपाने, नारायणी सहकारीका उपाध्यक्ष रामचन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२०५३ सालमा स्थापित सहकारीको कूल बचत २३ करोड ४४ लाख ४६ हजार, जगेडा कोष दुई करोड १८ लाख ७८ हजार र कूल ऋण लगानी २३ करोड ५९ लाख ७३ हजार रुपैंया रहेको छ ।
भवन, जग्गासहित सहकारीको कूल सम्पती ३६ करोड ६० लाख ३१ हजार तथा अन्य कोष ६३ लाख ९१ हजार रुपैंया छ । एक हजार एक सय ३३ महिलासहित दुई हजार दुई सय ५९ जना शेयर सदस्य रहेको सहकारीको ६ करोड १८ लाख ८६ हजार शेयर पुँजी रहेको छ ।
