एकीकृत बस्ती तथा आवास कार्यक्रम सम्बन्धि कार्यविधि स्वीकृति
मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सिमान्तकृत चेपाङ, वनकरीया माझी र बोटे समुदाय एकीकृत बस्ती तथा आवास कार्यक्रम सम्बन्धि कार्यविधि २०८० लाई स्वीकृती दिने निर्णय गरेको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने उक्त कार्यक्रमका लागि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधिलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
संघीय सरकारको सशर्त अनुदान अन्तर्गतको चेपाङ वनकारीया, माझी, बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम मकवानपुर, चितवन र धादिङ गरी ३ जिल्लाका लागि १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रत्यक वर्ष बजेट विनियोजन हुने उक्त कार्यक्रमलाई आगामी वर्षमा थप व्यवस्थित र व्यवहारिक बनाउने मन्त्री श्रेष्ठले बताए ।
यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
