खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम कार्यान्वयनको लागि स्वीकृति प्रदान

तु खबर संवाददाता
२०८० आश्विन २३, मंगलवार १८:१९
file-photo

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद बैठकले खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम कार्यान्वयनको लागि स्वीकृति प्रदान गरेको छ ।

मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त कार्यक्रम कार्यान्वयका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले गत वर्षहरुमा प्रदेश विनियोजन ऐन २०८० बमोजिम खरको छानामुक्त कार्यक्रम संचालन कार्यविधि २०७९ बनाई उक्त कार्यक्रम संचालन गर्दै आएको उनले बताए ।

यसअघि मन्त्रालयले कार्यविधि निर्माण गरी कार्यान्वयन गर्दै आएका उक्त कार्यक्रमलाई थप व्यवस्थित बनाउन मन्त्रिपरिषद् बैठकबाट कार्यविधिलाई स्वीकृत गराइएको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले जानकारी दिए ।

खरको छानामुक्त कार्यक्रम संचालनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा मन्त्रालयलाई ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।