वर्षे अधिवेशन अन्त्य गर्ने बागमती सरकारको निर्णय

तु खबर संवाददाता
२०८० आश्विन २३, मंगलवार १७:०३
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले आज राति १२ बजेबाट वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार, मन्त्रिपरिषद बैठकले प्रदेश सभाको १२ औं अधिवेशन अन्तयका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख शर्माले अधिवेशन अन्त्य गर्नेछन् ।

प्रदेश सभाको गत जेठ ९ गते आह्वान गरिएको उक्त अधिवेशनमा प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्नुका साथै केही विधेयकहरु पारित गरेको छ । उक्त अधिवेशन बैठकमा ३८ वटा बैठकहरु संचालन भएका छन् ।

उक्त अधिवेशन बैठकले अर्थ सम्बन्धी २ वटा विद्येयकसहित ४ वटा विद्येयकहरु पारित गरिएको छ । प्रदेश सभाको उक्त बैठकहरुमा आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सहित प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई व्यवस्थापन ऐनलाई संशोधन गर्न बनेको विधेयक लाई पारित गरेको हो ।

सो अधिवेशनको बैठकमा ७ वटा विधेयकहरु दर्ता भएका थिए । जसमध्ये ३ वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन् ।