हेटौंडामा स्थानीय तहका कर्मचारीद्वारा प्रदर्शन

तु खबर संवाददाता
२०८० आश्विन १९, शुक्रबार १६:५५

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार स्थानीय तहका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । संघीय निजामती सेवा ऐन संसद्बाट पारित हुनुपर्ने माग गर्दै कर्मचारीले हेटौंडा उपमहानगरपालिकाको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।

ऐन नबन्दा सबैभन्दा पीडित आफूहरू बन्नुपरेको भन्दै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर कार्यालय अघिल्तिर धर्ना दिएका हुन् ।

गत असोज १३ गतेको भेलाले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएरै आन्दोलनमा जाने निर्णय गरेको र सोही निर्णय बमोजिम आफुले प्रदर्शन गरेको हेटौंडा उपमहानगरपालिकाका लेखा अधिकृत केशव हुमागाईंले जानकारी दिए ।

उनले आफ्ना मागहरू सम्बोधन गर्दै छिटो ऐन जारी गर्न दबाब दिने उद्देश्यले स्थानीय तहको काम कारबाहीमा असर पर्ने गरी आफूहरू आन्दोलित बनेको बताए ।

स्थानीय तहका कर्मचारीले २० बुँदे माग अघि सारेका छन् । उनीहरूले ऐनको नाम नै परिवर्तन गर्नुपर्ने, संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषाभित्र समेट्नु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने, तीनवटै तहमा तहगत प्रणाली लागू गर्नुपर्नेलगायतको माग गरेका छन् ।