मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

तु खबर संवाददाता
२०८० आश्विन १८, बिहीबार ०९:००
file-photo

जलेश्वर । आज जितिया पर्व मनाइँदै छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने उक्त पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ ।

नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।

व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी, शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्नेछन् । यस पर्वमा व्रतालुले विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् ।

भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।

अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् ।