भूकम्पको क्षतिबारे कार्ययोजना बनाउन प्रधानमन्त्रीद्वारा बैठक आह्वान
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बिहीबार बस्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ केन्द्रबिन्दु बनाएर मङ्गलबार गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न बैठक आह्वान गरेका हुन् ।
प्राधिकरणको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनस्र्थापनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले बुधबार बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
मंगलबार गएको भूकम्पका कारण एक जनाको मृत्यु र २७ जना घाइते भएका छन् । भूकम्पले गर्दा पहिरोमा परी बेपत्ता भएको महिलाको शव फेला परेको छ । टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका –१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको शव फेला परेको हो ।
यस्तै, घाइते हुनेहरुमा बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना रहेको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।
