चिरमाया मृत्यु प्रकरणः मकवानपुर प्रहरीद्वारा घटना लुकाउन पीडितलाई उल्टै धम्की

तु खबर संवाददाता
२०८० आश्विन १७, बुधबार ०९:४५
जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा एम्बुलेन्स भित्र चिरमायाको शव ।

मकवानपुर । बकैया १ की ५६ वर्षीया चिरमाया लो मृत्यु प्रकरणलाई लिएर मकवानपुर प्रहरीले उल्टै पीडित परिवारलाई धम्की दिएको रहस्य बाहिर आएको छ । घटनामा प्रहरीकै लापरबाही देखिएपछि मकवानपुर प्रहरीले मृतकको परिवारलाई धम्की दिएको रहस्य सहतमा आएको हो ।

प्रहरीले फोन सम्पर्कमार्फत् घटना लुकाउन मृतक चिरमायाको छोरा लालबहादुर वाइबालाई धम्की दिइरहेको छ । आफुलाई फोन गरेर प्रहरीले धम्की दिएको भन्दै वाइबाले गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर घटनाबारे मिडियामा प्रतिक्रिया नदिन भन्नुभएको छ, उनले भने ।

‘प्रहरी हिरासतबाट मुक्त भएपछि म आमाको अन्तिम संस्कार गरिरहेको छु । मलाई जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर तपाईँलाई पत्रकारहरुले के सोधेको, किन सोधेको, फेरी सोध्लान् अब चाँही केही नबोल्नु है नत्र केश मिल्दैन नी भनिरहनुभएको छ ।’ वाइबाले भने ।

फोन सम्वादमा प्रहरीले आफुलाई पत्रकारलाई घटनाबारे किन बताएको ?, सहमति भइसकेको केश किन लम्ब्याएको ?, गल्ती तपाईकै छ । बिनाकारण समस्यामा पर्नुहोला नी भन्दै धम्की दिइरहेको वाइबाले बताए ।

यसरी मकवानपुर प्रहरी आफ्नो कमजोरी लुकाउन उल्टै पीडितलाई धम्क्याइरहेको छ । शान्ति सुरक्षा कायम गर्दै न्याय सम्पादनका लागि कार्य गर्ने निकायबाटै यसरी पीडितलाई धम्की दिइनु कानून विपरित भएको अधिवक्ता मदन दाहाल बताउँछन् ।  मकवानपुर प्रहरीले भने आफुहरुले पीडितलाई धम्की नदिएको बताएको छ ।

के भएको थियो घटना ?

घटना आइतबार राति १२ बजेको हो । मकवानपुरको बकैया गाउँपालिका–१ घर भएकी मुटु रोगको विरामी ५६ वर्षीया चिरमाया लोलाई उनको परिवारले घरतर्फ लैजाँदै थिए । विरामी लो काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएकी थिइन् ।

एम्बुलेन्ससँगै काठमाडौंबाटै आएको एउटा टाटासुमोमा रहेका परिवारलाई लिन बकैयाबाट अर्को टाटासुमो आएको थियो । हेटौंडाको रानी दरबार अगाडि मेनरोडमा काठमाडौंबाट आएको टाटासुमो खाली गरेर बकैयाबाट आएको टाटासुमोमा बिरामीको परिवार चढ्नै लाग्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हबल्दार शिवाकोटी घटनास्थलमा आइपुगे ।

बिरामीका परिवारका अनुसार बिरामी बोकेको ना २ च ८४३२ नम्बरको एम्बुलेन्स रोकेर घुमुवा प्रहरी सहायक हबल्दार शिवाकोटीले सडकमै ‘बबाल’ गर्न सुरु गरे । बिरामी महिलाको छोरा लालबहादुर वाइवाका अनुसार मादकपदार्थ सेवन गरेका शिवाकोटीले सुरुमै एम्बुलेन्सको चाबी थुतेर गाडीमा लाती हाल्न थाले ।

‘हामी टाटासुमो परिवर्तन गर्दै थियौं । त्यतिकैमा घुमुवा आएर एम्बुलेन्सको चाबी थुते र ढाक्कढुक्क पार्न थाले । ५ मिनेट जति त हामी बोल्नै नसक्ने अवस्थामा भयौं ।’, वाइवाले भने, ‘तपाई को हो भनेर सोध्दा म हेटौँडाको डन हो । बोलाऔं, गोली ठोक्दियौं भने ।’,

शिवाकोटीले प्रहरी भएको कुनै जानकारी नदिएको र विवाद हुँदा मात्रै उनको साथबाट पेस्तोल र हत्कडी सडकमा झरेको वाइवाले बताए । ‘पेस्तोल निकाल्न खोज्दा मैले धकेलेको हुँ । पेस्तोल समात्न नसक्ने गरी उहाँ झ्याप हुनुहुन्थ्यो ।’, उनले भने ।

विवाद हुँदै गर्दा जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र बिरामी परिवारका ५ जनालाई ल्याएर हिरासतमा राखेको थियो । प्रहरीले एम्बुलेन्स नै प्रहरी कार्यालयमा ल्याएर घण्टौँ राख्दा बिरामी महिलाको मृत्यु भएको थियो ।

अक्सिजनको सहारामा घर लैजाँदै गरेको अवस्थामा उनको छोरा, ज्वाईहरु गरी ५ जना प्रहरी हिरासतमै रहँदा महिलाको मृत्यु भएको हो ।
करिब ५ घण्टा एम्बुलेन्स प्रहरी कार्यालयमै राखिएको थियो । अक्सिजनको मात्रा ४० प्रतिशत मात्रै रहेको र अर्को अक्सिजन परिवर्तन गर्न नपाइएको उनका छोरा वाइवाले रुँदै भने । ‘हामीलाई स्वास थोरै रहेसम्म पनि आश हुन्थ्यो । प्रहरीले हस्पिटल लैजानु भन्दा पनि एम्बुलेन्स कार्यालयमै राख्यो ।’

प्रहरीले घटनामा आफ्नै गल्ती देखेपछि एउटा सहमति पत्र गराएर उनीहरुलाई हिरासत मुक्त गरिदियो । सहमति पत्रमा घाइते सहायक हबल्दार शिवाकोटीको उपचार प्रहरी पक्षबाटै गराइने उल्लेख छ । शिवाकोटीको उपचार भएपछि दुवै पक्षबीच बसेर मिलापत्र गरिने प्रहरीले जनाएको छ ।

मृतक परिवारसँग विवाद हुँदा घुमुवा प्रहरी शिवाकोटी पनि घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।