चिरमाया मृत्यु प्रकरणः प्रहरी सहायक हवल्दार निलम्बित, घटना लुकाउन पीडितलाई दबाब

मकवानपुर । हेटौँडामा आइतबार राति मदिराको नशामा उत्पात मच्चाउने प्रहरी सहायक हवल्दार डिल्लिराम शिवाकोटीलाई निलम्बन गरिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक रेग्मीले प्रहरी सहायक हवल्दार शिवाकोटीलाई निलम्वन गरी घटनाबारे छानविन प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए । उनले आइतबार रातिको घटनामा प्रहरीको गल्ती भएको स्वीकार गर्दै दोषिमाथि कारबाही प्रक्रिया अघि बढाइने बताए ।
‘आइतबार रातिको घटनामा प्रहरीकै गल्ती देखिएको छ । घटनामा संलग्न प्रहरी सहायक हवल्दार पनि घाइते भएका छन् । उनको उपचारपश्चात् कारबाही प्रक्रिया अघि बढ्छ ।’ एसएसपी रेग्मीले भने ।
के भएको थियो आइतबार राति ?
घटना आइतबार राति १२ बजेको हो । मकवानपुरको बकैया गाउँपालिका–१ घर भएकी मुटु रोगको विरामी ५६ वर्षीया चिरमाया लोलाई उनको परिवारले घरतर्फ लैजाँदै थिए । विरामी लो काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएकी थिइन् ।
एम्बुलेन्ससँगै काठमाडौंबाटै आएको एउटा टाटासुमोमा रहेका परिवारलाई लिन बकैयाबाट अर्को टाटासुमो आएको थियो । हेटौंडाको रानी दरबार अगाडि मेनरोडमा काठमाडौंबाट आएको टाटासुमो खाली गरेर बकैयाबाट आएको टाटासुमोमा बिरामीको परिवार चढ्नै लाग्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हबल्दार शिवाकोटी घटनास्थलमा आइपुगे ।
बिरामीका परिवारका अनुसार बिरामी बोकेको ना २ च ८४३२ नम्बरको एम्बुलेन्स रोकेर घुमुवा प्रहरी सहायक हबल्दार शिवाकोटीले सडकमै ‘बबाल’ गर्न सुरु गरे । बिरामी महिलाको छोरा लालबहादुर वाइवाका अनुसार मादकपदार्थ सेवन गरेका शिवाकोटीले सुरुमै एम्बुलेन्सको चाबी थुतेर गाडीमा लाती हाल्न थाले ।
‘हामी टाटासुमो परिवर्तन गर्दै थियौं । त्यतिकैमा घुमुवा आएर एम्बुलेन्सको चाबी थुते र ढाक्कढुक्क पार्न थाले । ५ मिनेट जति त हामी बोल्नै नसक्ने अवस्थामा भयौं ।’, वाइवाले भने, ‘तपाई को हो भनेर सोध्दा म हेटौँडाको डन हो । बोलाऔं, गोली ठोक्दियौं भने ।’,
शिवाकोटीले प्रहरी भएको कुनै जानकारी नदिएको र विवाद हुँदा मात्रै उनको साथबाट पेस्तोल र हत्कडी सडकमा झरेको वाइवाले बताए । ‘पेस्तोल निकाल्न खोज्दा मैले धकेलेको हुँ । पेस्तोल समात्न नसक्ने गरी उहाँ झ्याप हुनुहुन्थ्यो ।’, उनले भने ।
विवाद हुँदै गर्दा जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र बिरामी परिवारका ५ जनालाई ल्याएर हिरासतमा राखेको थियो । प्रहरीले एम्बुलेन्स नै प्रहरी कार्यालयमा ल्याएर राख्दा बिरामी महिलाको मृत्यु भएको थियो ।
मृतक परिवारसँग विवाद हुँदा घुमुवा प्रहरी शिवाकोटी घाइते भएका छन् । उनको उपचार चितवनस्थित भरतपुर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी कार्यालय परिसरमै विरामीको मृत्यु
प्रहरीले ना २ च ८४३२ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएपछि विरामी महिलाको जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमै मृत्यु भएको हो । अक्सिजनको सहारामा घर लैजाँदै गरेको अवस्थामा उनको छोरा, ज्वाईहरु गरी ५ जना प्रहरी हिरासतमै रहँदा महिलाको मृत्यु भएको हो ।
करिब २ घण्टा एम्बुलेन्स प्रहरी कार्यालयमै राखिएको थियो । अक्सिजनको मात्रा ४० प्रतिशत मात्रै रहेको र अर्को अक्सिजन परिवर्तन गर्न नपाइएको उनका छोरा वाइवाले रुँदै भने । ‘हामीलाई स्वास थोरै रहेसम्म पनि आश हुन्थ्यो । प्रहरीले हस्पिटल लैजानु भन्दा पनि एम्बुलेन्स कार्यालयमै राख्यो ।’
अधिवक्ता मदन दाहालले विरामी बोकेको एम्बुलेन्सलाई प्रहरीले घण्टौँसम्म नियन्त्रणमा लिएर गम्भीर त्रुटि गरेको बताए । ‘प्रहरीले हिरासतमा नै भएको विरामीलाई त स्वास्थ्य समस्या आउँदा अस्पताल लैजानुपर्ने कानूनी व्यवस्था छ । आइतबारको घटनामा त अक्सिजन लगाउनुपर्ने गम्भीर अवस्थाको विरामीलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा परिसरमा राखिएको छ । विरामीका सहयोगीसमेतलाई हिरासतमा राखिएको छ । यो प्रहरीको गम्भीर त्रुटि हो ।’ उनले भने ।
घटना लुकाउन पीडितलाई दबाब
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हेटौँडा आएकै दिन नारा, जुलुस निस्किने त्रासले प्रहरीले मृतक महिलाको छोरा र ज्वाईसहित ५ जनालाई ४–५ घण्टा हिरासतमा राख्यो र सोमबार बिहानै हिरासतमुक्त गरिदियो । घटनामा प्रहरीकै गल्ती देखिएपछि पीडित पक्षलाई सहमति गर्न प्रहरीले दबाब दिएको रहस्य बाहिर आएको छ ।
‘हामीलाई सहमति गरेपछि मात्रै हिरासत मुक्त हुन्छ, नत्र, प्रहरीमाथि हातपात गरेको केशमा जेल पठाउँछु भन्दै धम्क्याइयो । सहमतिका लागि दबाब दिइयो । हिरासतमुक्त भएपछि न्यायका लागि पहल गर्न पाउँछौँ भनेर आँशिक सहमति गर्न हामी बाध्य भयौँ ।’ मृतकको ज्वाईँले गुनासो गरे ।
यसरी प्रहरीले घटनामा आफ्नै गल्ती देखेपछि एउटा सहमति पत्र गराएर उनीहरुलाई हिरासत मुक्त गरिदियो । सहमति पत्रमा घाइते सहायक हबल्दार शिवाकोटीको उपचार प्रहरी पक्षबाटै गराइने उल्लेख छ । शिवाकोटीको उपचार भएपछि दुवै पक्षबीच बसेर मिलापत्र गरिने प्रहरीले जनाएको छ ।