प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै
मानसरोवर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् ।
उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्नेछन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।
प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
