मकवानपुरमा थप ९ जना डेंगू संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८० आश्विन १०, बुधबार १७:२७
file-photo

मकवानपुर । मकवानपुरमा थप ९ जनानमा डेंगू संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ५ जना, मकवानपुरगढी, मनहरी, बकैया र राक्सिराङ गाउँपालिकाका एक/एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा गत साउन १ गतेदेखि आजसम्म डेंगू संक्रमितको कूल संख्या ५३० पुगेको छ । जसमा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ३६५ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका दुई जना, मकवानपुरगढी गाउँपालिकाका ११ जना, बागमती गाउँपालिकाका २२ जना, मनहरी गाउँपालिकाका ५० जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका १२ जना, बकैया गाउँपालिकाका १७ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।